27/08/2021
एमसीसी परिमार्जनसहित अगाडि बढाउनुपर्छः माधब नेपाल
दैनिक न्यूज नेपाल
बिहिबार, भाद्र १० २०७८
296
SHARES
FacebookTwitterViberWhatsAppEmail

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल सरकारबीच भएको सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने बताएका छन् ।
नयाँ पार्टीका योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बिहीबार अध्यक्ष नेपालले तत्कालीन नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार एमसीसी अगाडि बढाउनुपर्ने बताए ।
एमसीसी सुधार गरेर, परिमार्जन गरेर अगाडि बढाउनुपर्छ । नेपालको हितमा प्रयोग होस् र त्यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस। विदेशीहरूका विरुद्धमा लक्षित नहोस्,अध्यक्ष नेपालले भने । एमसीसीले नेपाली हितको कुठाराघात नगर्ने गरी अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले अगाडि सारेका मान्यताअनुसार अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको नेपालले प्रष्ट पारे ।
एमसीसीबारे अध्ययन गर्नका लागि तत्कालीन नेकपाले खनालको संयोजकत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलमा रहेका खनाल र रावलले एमसीसी परिमार्जनसहित अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए भने ज्ञवालीले जस्ताको तस्तै संसद्बाट पारित गर्नुपर्ने फरक मत लेखेका थिए । उनले एमसीसी नबुझेकाले विरोध गरिरहेको बताएका थिए ।
एमसीसीलाई लिएर दलहरू विभाजित हुँदा यो योजना अलपत्र परेको छ । नेपालको ऊर्जा र सडक पूर्वाधारमा अमेरिका र नेपालको संयुक्त लगानीमा यी क्षेत्रमा ठूला परियोजना अगाडि बढाउने एमसीसीमा उल्लेख छ ।