साझा एकता दल

साझा एकता दल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साझा एकता दल, Political Party, Kathmandu.

विविधतामा एकता हाम्रो विशेषता।
राष्ट्रिय एकता, उत्तरदायी शासन, शून्य भ्रष्टाचार, आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धमार्फत स्वाभिमानी, सक्षम र समृद्ध राष्ट्र निर्माण गर्दै नागरिकलाई समान अवसर, सम्मान र समृद्धि सुनिश्चित गर्न प्रतिबद्ध

महानगरभित्रको असारे विकासको अर्को अनुपम उदाहरण कालोपत्रे गरिएको सडकमा सिमेन्ट ढलान। उपलब्ध बजेट जसरी भए पनि खर्च गरेर सक...
27/05/2026

महानगरभित्रको असारे विकासको अर्को अनुपम उदाहरण कालोपत्रे गरिएको सडकमा सिमेन्ट ढलान। उपलब्ध बजेट जसरी भए पनि खर्च गरेर सकाउनै पर्छ भन्ने सोचले सार्वजनिक स्रोतको दुरुपयोगलाई संस्थागत गरेको देखिन्छ। आखिर यस्तो सोच कुन प्रतिभाशाली दिमागको उपज होला?

14/05/2026

सहभागिता / संलग्नता फारम: https://forms.gle/KuRDhSKF5VvxfSsA6

बालेन्द्र शाह (बलेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भइसके पछिको राजनीतिक अवस्था, सरकारको कार्यशैली, सांसदहरूलाई दलको अङ्कुश, निर्णय प्रक्रिया तथा दल सञ्चालनको व्यवहारिक पक्षलाई नजिकबाट विश्लेषण गर्दा अब नेपालमा केवल वैकल्पिक नाराभन्दा माथि उठेर स्पष्ट वैचारिक आधार, संस्थागत अनुशासन, आन्तरिक लोकतन्त्र, प्रशासनिक क्षमता र आर्थिक पारदर्शितासहितको नयाँ राजनीतिक शक्तिको आवश्यकता अझ स्पष्ट रूपमा देखिएको छ।

विशेषतः वडा तहदेखि केन्द्रसम्म पार्टी सञ्चालनको स्पष्ट संरचना, कार्यकर्ताको भूमिका, जिम्मेवारी, अधिकार, आचारसंहिता, दैनिक प्रशासनिक प्रणाली, वित्तीय पारदर्शिताको मापदण्ड, तहगत बैठकहरूको एजेन्डा तय गरिने आधार सहितको पद्धति सहित, नीति निर्माण प्रक्रिया तथा सरकार–पार्टी सम्बन्धको संस्थागत ढाँचा व्यवस्थित रूपमा विकास नगरी दीर्घकालीन रूपमा प्रभावकारी र उत्तरदायी राजनीतिक शक्ति निर्माण सम्भव देखिँदैन।

नेपालको वर्तमान राजनीतिक परिदृश्यले व्यक्ति केन्द्रित लोकप्रियता मात्र पर्याप्त नहुने सङ्केत गरिसकेको छ। अब देशलाई स्पष्ट राष्ट्रिय दृष्टिकोण, सुशासनप्रतिको प्रतिबद्धता, उत्पादनमुखी अर्थनीति, योग्यतामा आधारित नेतृत्व विकास, संस्थागत उत्तरदायित्व तथा कानुनी शासनलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने सशक्त र व्यवस्थित राजनीतिक शक्तिको आवश्यकता छ।

त्यसैले २०८४ को स्थानीय तथा प्रदेश तहको निर्वाचनअघि नै वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सक्षम, प्रशासनिक रूपमा व्यवस्थित तथा आर्थिक रूपमा पारदर्शी नयाँ राजनीतिक शक्तिको निर्माण आजको राष्ट्रिय आवश्यकता बनेको छ। यस्तो शक्ति कुनै एक व्यक्ति वा समूहको प्रयासबाट मात्र सम्भव छैन; साझा उद्देश्य, इमानदार सहकार्य, राष्ट्रिय सोच र सामूहिक जिम्मेवारीबाट मात्रै दीर्घकालीन परिवर्तन सम्भव छ। त्यसैले हामी अध्ययनशील आलोचनात्मक चेत सहितका शिक्षित नेपाली युवा हरूलाई "साझा एकता दल" मा गोलबद्ध हुन आह्वान गर्दछौँ।

रास्वपाको “नागरिक करार” को अवधारणा – संरचनात्मक सीमाहरू र साझा एकता दलको कार्यान्वयनयोग्य वैकल्पिक दृष्टिकोणनेपालको लोकत...
15/02/2026

रास्वपाको “नागरिक करार” को अवधारणा – संरचनात्मक सीमाहरू र साझा एकता दलको कार्यान्वयनयोग्य वैकल्पिक दृष्टिकोण

नेपालको लोकतान्त्रिक अभ्यासमा जनतासँग प्रत्यक्ष “नागरिक करार” गर्ने प्रयासलाई सकारात्मक सङ्केतका रूपमा लिन सकिन्छ। जनप्रतिनिधि र नागरिकबिच उत्तरदायित्वको सम्बन्धलाई औपचारिक बनाउने अवधारणा आफैँमा राजनीतिक संस्कार सुधारको सङ्केत हो। तर कुनै पनि राजनीतिक करारको वास्तविक मूल्य त्यसको भाषिक प्रतिबद्धतामा होइन, संरचनात्मक स्पष्टता, वित्तीय यथार्थता र कार्यान्वयन संयन्त्रको मजबुतीमा निहित हुन्छ।
यसै आधारमा प्रस्तुत गरिएको “नागरिक करार” को विश्लेषण गर्दा केही गम्भीर संरचनात्मक प्रश्नहरू उठ्छन्।

१. दिशा स्पष्ट, तर प्रशासनिक संरचना अपर्याप्त:
करारमा सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र प्रवासी व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। यी विषयहरू राष्ट्रिय आवश्यकता अनुरूप छन्। तर संघीय शासन संरचना भएको मुलुकमा कुनै पनि प्रतिबद्धता कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिच स्पष्ट कार्य विभाजन आवश्यक हुन्छ। जब नीतिगत घोषणा प्रशासनिक तहसँग प्रत्यक्ष रूपमा जोडिँदैन, त्यस्ता प्रतिबद्धताहरू व्यवहारमा परिणत हुन कठिन हुन्छन्।
राजनीतिक घोषणा प्रभावशाली हुन सक्छ, तर प्रशासनिक रोडम्यापबिना त्यो दीर्घकालीन परिणाममा रूपान्तरण हुन सक्दैन। साझा एकता दलको धारणा अनुसार, प्रत्येक नीतिगत लक्ष्यसँगै कार्यान्वयन गर्ने निकाय, कानुनी आधार, संस्थागत संयन्त्र र चरणबद्ध प्रक्रिया अनिवार्य रूपमा सार्वजनिक हुनुपर्छ।

२. वित्तीय यथार्थता र स्रोत व्यवस्थापनको अस्पष्टता:
आय वृद्धि, सामाजिक सुरक्षा विस्तार, पूर्वाधार निर्माण तथा आर्थिक सुदृढीकरणजस्ता लक्ष्यहरू उल्लेख गरिएका छन्। तर ती लक्ष्यहरू प्राप्त गर्न आवश्यक वित्तीय स्रोत, राजस्व संरचना सुधार, उत्पादन क्षेत्र विस्तार र लगानी वातावरण विकासको स्पष्ट खाका प्रस्तुत गरिएको छैन। आर्थिक स्रोतबिना कुनै पनि लक्ष्य दीर्घकालीन रूपमा दिगो हुन सक्दैन।
नेपालको वर्तमान आर्थिक संरचनामा उपभोग–आधारित अर्थतन्त्र प्रमुख छ। मध्यम वर्ग विस्तार र रोजगारी वृद्धि उत्पादन–आधारित औद्योगिक संरचना बिना सम्भव छैन। साझा एकता दल उत्पादनमुखी अर्थतन्त्र, आयात प्रतिस्थापन नीति, निर्यात प्रवर्द्धन, कृषि–उद्योग–प्रविधि एकीकरण र कर प्रशासनको डिजिटल सुधारलाई दीर्घकालीन आर्थिक रूपान्तरणको आधार मान्दछ।

३. मापनयोग्य सूचक र समय सीमाको अभाव:
राजनीतिक करारलाई व्यवहारिक बनाउने मुख्य तत्त्व भनेको मापनयोग्य लक्ष्य र समय सीमा हो। जब लक्ष्य प्रतिशत, परिमाण, वार्षिक प्रगति र चरणगत परिणामसँग जोडिँदैन, तब उत्तरदायित्व मापन गर्न सकिँदैन। करारले दिशा दिन सक्छ, तर परिणाम मूल्याङ्कन गर्ने स्पष्ट मापदण्डबिना राजनीतिक उत्तरदायित्व औपचारिक मात्र रहन्छ।
साझा एकता दलको वैकल्पिक मोडलमा प्रत्येक प्रतिबद्धता वार्षिक प्रगति सूचक, सार्वजनिक डिजिटल ट्र्याकिङ प्रणाली र स्वतन्त्र मूल्याङ्कन संयन्त्रसँग जोडिन्छ। यसले घोषणालाई परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित बनाउँछ।

४. सुशासनको अवधारणा – नारा कि प्रणाली?
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रतिबद्धता महत्त्वपूर्ण छ। तर सुशासन व्यक्ति केन्द्रित अभियानले होइन, संस्थागत प्रणालीले सुनिश्चित हुन्छ। सार्वजनिक खरिद प्रणाली, बजेट खर्च, लाइसेन्स प्रक्रिया र नियामक निर्णयहरू पूर्ण डिजिटल पारदर्शितामा नजाँदासम्म सुशासन स्थायी हुन सक्दैन।
साझा एकता दल सुशासनलाई भावनात्मक अभियान होइन, संरचनात्मक सुधारको विषय मान्दछ। सरकारी खरिदको पूर्ण डिजिटल ट्रेसिङ, सार्वजनिक खर्चको रियल–टाइम पारदर्शिता, स्वतन्त्र नागरिक अडिट र संस्थागत उत्तरदायित्व संयन्त्रमार्फत मात्र सुशासन दिगो रूपमा स्थापित गर्न सकिन्छ।

५. रोजगारी र प्रवासी व्यवस्थापन – संरचनात्मक सुधारको आवश्यकता:
रोजगारी सिर्जना सम्बन्धी प्रतिबद्धता उल्लेखनीय छ। तर रोजगारी सरकारको प्रत्यक्ष सिर्जनात्मक कार्यभन्दा पनि औद्योगिक वातावरण र लगानी संरचनासँग सम्बन्धित विषय हो। उद्योग विस्तार, लगानी सुरक्षाको ग्यारेन्टी, श्रम सीप प्रमाणीकरण र वित्तीय पहुँच सुधारबिना रोजगारी लक्ष्य व्यवहारिक बन्न सक्दैन।
नेपालको ठुलो जनशक्ति विदेशमा कार्यरत छ। तर प्रवासी सीपको व्यवस्थित डेटाबेस, सीप प्रमाणीकरण प्रणाली र पुनर्संयोजन नीति स्पष्ट रूपमा संरचित हुन आवश्यक छ। साझा एकता दल प्रवासी श्रमलाई आर्थिक पुँजीमा रूपान्तरण गर्ने दीर्घकालीन नीति आवश्यक मान्दछ।

समग्रमा “नागरिक करार” को अवधारणा सकारात्मक राजनीतिक प्रयोग हो। तर दीर्घकालीन प्रभावका लागि यसलाई प्रशासनिक संरचना, वित्तीय स्पष्टता, मापनयोग्य लक्ष्य, समय सीमा र उत्तरदायित्व संयन्त्रसँग जोड्न अनिवार्य हुन्छ। दिशात्मक प्रतिबद्धता पर्याप्त हुँदैन; संरचनात्मक स्पष्टता अपरिहार्य हुन्छ।
साझा एकता दलको वैचारिक आधार घोषणा होइन, प्रणाली निर्माण हो। राजनीति भावनात्मक प्रेरणाबाट सुरु भए पनि संस्थागत संरचना र नीतिगत स्पष्टतामै टिक्छ। उत्तरदायी लोकतन्त्रको आधार व्यक्ति केन्द्रित वाचा होइन, संस्थागत कार्यान्वयन प्रणाली हो भन्ने हाम्रो स्पष्ट विश्वास छ।

श्री Pranaya Rana ज्यूले प्रस्तुत गर्नुभएको राजीनामा पत्रमा उल्लेखित विषयवस्तुहरूलाई साझा एकता दलले लोकतान्त्रिक विमर्शक...
14/02/2026

श्री Pranaya Rana ज्यूले प्रस्तुत गर्नुभएको राजीनामा पत्रमा उल्लेखित विषयवस्तुहरूलाई साझा एकता दलले लोकतान्त्रिक विमर्शको महत्त्वपूर्ण आयामको रूपमा ग्रहण गरेको छ। उहाँको आगामी सार्वजनिक जीवन तथा राजनीतिक यात्राका लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। कुनै पनि लोकतान्त्रिक दलको विश्वसनीयता उसको आन्तरिक शासन संरचना, विधि–विधानको पालना, वित्तीय पारदर्शिता र निर्णय प्रक्रियाको संस्थागत सुदृढतामा निहित हुन्छ। जब आन्तरिक लोकतन्त्र, प्रक्रियागत निष्ठा, प्राइमरी अभ्यास, मापदण्डको एकरूपता तथा आर्थिक पारदर्शितासम्बन्धी प्रश्नहरू सार्वजनिक बहसको विषय बन्छन्, ती केवल सङ्गठनभित्रका असन्तोष होइनन्; ती संवैधानिक मूल्य, विधिको शासन (Rule of Law) र सार्वजनिक उत्तरदायित्वसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू हुन्। “विशेष परिस्थिति” जस्ता व्यवस्थाहरू असाधारण अवस्थाका लागि सीमित, समयबद्ध र स्पष्ट कानुनी आधारसहित प्रयोग गरिनुपर्छ; अन्यथा तिनले संस्थागत स्थायित्व र सार्वजनिक विश्वासलाई क्षति पुर्‍याउने जोखिम रहन्छ। लोकतान्त्रिक दलीय व्यवस्थामा प्रक्रियागत वैधता (Procedural Legitimacy) र वित्तीय पारदर्शिता (Financial Accountability) वैकल्पिक होइन, अनिवार्य सर्त हुन्।

साझा एकता दल वैचारिक रूपमा स्पष्ट छ कि वैकल्पिक राजनीति भनेको व्यक्ति केन्द्रित आक्रोश होइन, संस्थामुखी सुधार हो। हाम्रो मूल मन्त्र — “विविधतामा एकता हाम्रो विशेषता” — केवल सांस्कृतिक अभिव्यक्ति होइन, शासन दर्शन हो। हामी राष्ट्रिय एकता, उत्तरदायी शासन, शून्य भ्रष्टाचार, आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धमार्फत स्वाभिमानी, सक्षम र समृद्ध राष्ट्र निर्माण गर्दै नागरिकलाई समान अवसर, सम्मान र समृद्धि सुनिश्चित गर्न प्रतिबद्ध छौँ। यस परिप्रेक्ष्यमा हामी राजनीतिक प्रतिस्पर्धालाई शत्रुताको रूपमा होइन, नीतिगत विमर्शको रूपमा हेर्छौँ। साझा एकता दल संस्थागत अनुशासन, विधिसम्मत प्रक्रिया, पारदर्शी आर्थिक प्रणाली, आन्तरिक लोकतान्त्रिक निर्वाचन र सार्वजनिक अभिव्यक्तिमा कूटनीतिक संयमलाई अनिवार्य राजनीतिक मानक मान्दछ।

हामी विश्वास गर्छौँ — लोकतन्त्रको गुणस्तर सरकारमा पुगेपछि मात्र परीक्षण हुँदैन; त्यो दलभित्रैबाट सुरु हुन्छ। त्यसैले हाम्रो राजनीतिक दृष्टिकोण आलोचनाभन्दा माथि उठेर सुधारको संरचनात्मक खाका प्रस्तुत गर्नेमा केन्द्रित छ। भावनात्मक उत्तेजना होइन, संवैधानिक मर्यादा; व्यक्तिवादी वाक्पटुता होइन, संस्थागत स्थायित्व; क्षणिक लोकप्रियता होइन, दीर्घकालीन राष्ट्रिय हित — यही साझा एकता दलको स्पष्ट वैचारिक र नीतिगत दिशा हो।

नेकपा को  २०८२ फागुन २१ गतेको लागि तय भएको संघिय संसद को निर्वाचनको घोषणापत्रका मुख्य बुँदाहरू महत्वाकांक्षी, आकर्षक र ज...
14/02/2026

नेकपा को २०८२ फागुन २१ गतेको लागि तय भएको संघिय संसद को निर्वाचनको घोषणापत्रका मुख्य बुँदाहरू महत्वाकांक्षी, आकर्षक र जनभावनालाई छुने खालका देखिन्छन्। तर साझा एकता दलको दृष्टिकोणमा कुनै पनि घोषणापत्रलाई नारा र आश्वासनको आधारमा होइन, कार्यान्वयनको स्पष्ट योजना, वित्तीय स्रोतको यथार्थ, संस्थागत क्षमता र विगतको कार्यसम्पादनका आधारमा मूल्यांकन गर्नुपर्छ। विशेषगरी समयसीमा तोकेर गरिएको वाचा र ठूलो संख्यात्मक लक्ष्यहरू व्यवहारिक धरातलमा कत्तिको सम्भव छन् भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ।

२ वर्षभित्र “भोकमुक्त नेपाल” बनाउने लक्ष्य अत्यन्त भावनात्मक र आकर्षक भए पनि व्यवहारिक रूपमा जटिल छ। नेपालमा भोक र कुपोषण केवल अन्न अभावको विषय मात्र होइन; यो वितरण प्रणाली, कृषिगत उत्पादकत्व, आय असमानता र प्रशासनिक दक्षतासँग जोडिएको संरचनागत समस्या हो। दुई वर्षको अवधिमा सम्पूर्ण संरचना सुधार नगरी यस्तो लक्ष्य पूरा गर्ने घोषणा यथार्थभन्दा बढी राजनीतिक नारा जस्तो देखिन्छ। स्थायी समाधानका लागि कृषि सुधार, भण्डारण प्रणाली, मूल्य शृंखला विकास र लक्षित सामाजिक सुरक्षा कार्यक्रम आवश्यक हुन्छ।

गरिबीको दर ५% मा झार्ने घोषणा पनि संख्यात्मक रूपमा प्रभावशाली देखिए तापनि यसको लागि आवश्यक आर्थिक वृद्धिदर, रोजगारी सृजना र आय वितरणको स्पष्ट खाका प्रस्तुत गरिएको छैन। नेपाल जस्तो विकासशील अर्थतन्त्रमा छोटो समयमै गरिबी एकअंकमा झार्नुका लागि दोहोरो अंकको निरन्तर आर्थिक वृद्धिदर आवश्यक पर्छ, जुन विगतको प्रदर्शन हेर्दा चुनौतीपूर्ण छ। ठोस नीति र वित्तीय स्रोत बिना यस्तो घोषणा अव्यवहारिक ठहरिन सक्छ।

सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनको प्रस्ताव सकारात्मक लागे पनि यसको विश्वसनीयता कार्यान्वयनमा निर्भर हुन्छ। यदि छानबिन राजनीतिक प्रतिशोधको माध्यम बन्छ भने यसले सुशासनभन्दा अस्थिरता निम्त्याउन सक्छ। स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायमार्फत पारदर्शी प्रक्रिया बिना यस्तो घोषणा प्रभावहीन नारा मात्र बन्ने जोखिम हुन्छ।

वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अत्यन्त ठूलो दायित्व हो। नेपालको हालको निजी क्षेत्रको विस्तार दर, औद्योगिक लगानीको अवस्था र पूँजी निर्माणको स्तर हेर्दा यो लक्ष्य प्राप्त गर्न व्यापक औद्योगिकीकरण, विदेशी लगानी र उत्पादन क्षेत्रको तीव्र विस्तार आवश्यक हुन्छ। स्पष्ट क्षेत्रगत रणनीति, पूँजी लगानी योजना र बजार पहुँच सुनिश्चित नगरी यस्तो लक्ष्य घोषणा गर्नु व्यवहारिक धरातलमा कठिन देखिन्छ।

दलित तथा अल्पसंख्यक युवालाई सहुलियत ऋण दिने प्रस्ताव सामाजिक दृष्टिले सकारात्मक भए पनि ऋण वितरण मात्र समाधान होइन। उत्पादन, बजार पहुँच र व्यवसायिक परामर्श प्रणाली बिना सहुलियत ऋण डिफल्ट दर बढाउने जोखिम हुन्छ। वित्तीय अनुशासन र उद्यमशीलता विकास कार्यक्रम सँगसँगै अघि नबढे यस्तो योजना दीर्घकालीन रूपमा टिकाउ हुँदैन।

२ वर्षभित्र सबै किसानलाई परिचयपत्र दिने लक्ष्य प्रशासनिक रूपमा सम्भव देखिए पनि त्यसको वास्तविक उपयोगिता स्पष्ट हुनुपर्छ। परिचयपत्र वितरण मात्र कृषि उत्पादन वृद्धि वा आय सुधारको ग्यारेन्टी होइन। किसानलाई बीउ, प्रविधि, बजार र न्यूनतम समर्थन मूल्य सुनिश्चित नगरी कागजी परिचयपत्रले मात्र संरचनागत समस्या समाधान गर्दैन।

२० शहरलाई स्मार्ट सिटी र ग्रामीण बस्तीलाई स्मार्ट भिलेज बनाउने घोषणा अत्यन्त आकर्षक शब्दावली हो, तर “स्मार्ट” को परिभाषा, लागत, पूर्वाधार र दीर्घकालीन सञ्चालन खर्च स्पष्ट हुनुपर्छ। नेपालको वर्तमान राजस्व अवस्था र शहरी व्यवस्थापन क्षमताले यस्तो व्यापक रूपान्तरण वहन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्छ। पूर्वाधार विकासलाई प्राथमिकता नदिई डिजिटल ट्याग लगाउनु मात्र पर्याप्त हुँदैन।

२०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउने लक्ष्य सामाजिक सुरक्षाका दृष्टिले सराहनीय भए पनि बीमा प्रणालीको वित्तीय स्थायित्व ठूलो चुनौती हो। हालको स्वास्थ्य बीमा कार्यक्रम नै आर्थिक संकटमा परेको अवस्थामा सम्पूर्ण नागरिकलाई कभर गर्न व्यापक कर सुधार र स्वास्थ्य पूर्वाधार विस्तार आवश्यक हुन्छ। वित्तीय स्रोत स्पष्ट नभए यो कार्यक्रम टिकाउ नहुन सक्छ।

मन्त्री संख्या घटाएर सानो मन्त्रिपरिषद् बनाउने प्रस्ताव प्रशासनिक दृष्टिले सकारात्मक देखिन्छ। तर मन्त्री घटाउँदैमा प्रशासनिक खर्च स्वतः घट्दैन, यदि संरचनागत सुधार नहुने हो भने। वास्तविक खर्च नियन्त्रणका लागि विभागीय पुनर्संरचना, दोहोरो संरचना हटाउने र डिजिटल शासन आवश्यक हुन्छ।

शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने घोषणा पनि सकारात्मक देखिए तापनि गुणस्तर र निःशुल्कता दुवै सुनिश्चित गर्न ठूलो बजेट, शिक्षक तालिम, पूर्वाधार सुधार र अनुगमन प्रणाली आवश्यक हुन्छ। केवल शुल्क हटाएर गुणस्तर स्वतः सुधार हुँदैन। दीर्घकालीन शिक्षा सुधार योजना बिना यो घोषणा अपूर्ण रहन सक्छ।

युवा जनशक्तिको देशभित्र रोकथाम र आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको लक्ष्य अर्थतन्त्रको संरचनागत रूपान्तरणसँग सम्बन्धित विषय हो। उत्पादनशील उद्योग, लगानी वातावरण, ऊर्जा उपलब्धता र व्यापार सहजीकरण सुधार नगरी केवल नीति घोषणाले युवालाई देशभित्र रोक्न सकिँदैन। आयात प्रतिस्थापन सफल हुन प्रतिस्पर्धी उत्पादन क्षमता आवश्यक हुन्छ, अन्यथा बजारमा मूल्यवृद्धि र गुणस्तर समस्या आउन सक्छ।

निष्कर्षतः, नेकपा को घोषणापत्रका धेरै बुँदाहरू जनभावनालाई आकर्षित गर्ने र दीर्घकालीन लक्ष्यसँग सम्बन्धित छन्। तर स्पष्ट वित्तीय स्रोत, चरणबद्ध कार्ययोजना र संस्थागत क्षमता अभिवृद्धिको खाका बिना यीमध्ये धेरै लक्ष्यहरू अत्यन्त महत्वाकांक्षी र आंशिक रूपमा अव्यवहारिक देखिन्छन्। साझा एकता दलको धारणा अनुसार दिगो विकासका लागि घोषणाभन्दा बढी यथार्थपरक योजना, डिजिटल रूपान्तरण, खर्च–प्रभावी प्रशासन र स्पष्ट उत्तरदायित्व प्रणाली अपरिहार्य हुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०८२ फागुन २१ गतेको लागि तय भएको संघिय संसद को निर्वाचनको लागि प्रस्ताव गरेको घोषणापत्रका...
14/02/2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०८२ फागुन २१ गतेको लागि तय भएको संघिय संसद को निर्वाचनको लागि प्रस्ताव गरेको घोषणापत्रका मुख्य बुँदाहरू नेपालको वर्तमान संवैधानिक, सामाजिक र आर्थिक संरचनामा उल्लेखनीय परिवर्तनको दिशामा लक्षित देखिन्छन्। साझा एकता दलको दृष्टिकोणबाट हेर्दा यी प्रस्तावहरूलाई भावनात्मक वा वैचारिक बहसका आधारमा मात्र होइन, व्यवहारिक सम्भाव्यता, स्रोत–साधनको उपलब्धता, सामाजिक सहमति र दीर्घकालीन स्थायित्वको आधारमा मूल्याङ्कन गर्न आवश्यक छ। नेपालको वर्तमान राजनीतिक संरचना संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित भएकाले कुनै पनि मौलिक संरचनागत परिवर्तनका लागि व्यापक राष्ट्रिय सहमति र संवैधानिक प्रक्रिया अनिवार्य हुन्छ।

राजसंस्थालाई अभिभावकी संस्थाका रूपमा पुनर्स्थापना गर्ने प्रस्ताव उच्च संवैधानिक जटिलतासँग सम्बन्धित छ। यसका लागि संविधान संशोधन र सम्भवतः जनमत सङ्ग्रह आवश्यक पर्न सक्छ। वर्तमान राजनीतिक सन्तुलनलाई हेर्दा दुई-तिहाइ समर्थन जुटाउनु कठिन देखिन्छ। यसले समाजमा ध्रुवीकरण निम्त्याउने जोखिम पनि राख्छ। दीर्घकालीन समाधानका रूपमा प्रत्यक्ष पुनर्स्थापनाभन्दा राष्ट्रिय एकताको प्रतीकात्मक वा परामर्शदाता संरचना जस्ता वैकल्पिक मोडेलमाथि व्यापक संवाद गर्नु अधिक व्यवहारिक हुन सक्छ।

नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनः स्थापना गर्ने प्रस्ताव पनि संवेदनशील विषय हो। नेपाल बहु धार्मिक, बहु सांस्कृतिक समाज भएकाले यस्तो निर्णयले सामाजिक समरसतामा प्रभाव पार्न सक्छ। संवैधानिक संशोधन, अन्तर्राष्ट्रिय प्रतिबद्धता र धार्मिक स्वतन्त्रताको सन्तुलन कायम राख्नुपर्ने हुन्छ। यदि धार्मिक पहिचानको संरक्षण नै लक्ष्य हो भने धार्मिक स्वतन्त्रताको ग्यारेन्टी कायम राख्दै सांस्कृतिक संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकता दिनु अधिक स्थायी समाधान हुन सक्छ।प्रदेश संरचना खारेज गरी दुई तहको शासन लागू गर्ने प्रस्ताव व्यवहारिक रूपमा जटिल अवश्य छ, तर साझा एकता दलको दृष्टिकोणमा आजको डिजिटल युगमा संघीय संरचना अनिवार्य छ भन्ने धारणा स्वतः स्थापित हुँदैन। संघीय संरचनामा ठुलो वित्तीय र प्रशासनिक लगानी भइसकेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन, तर निरन्तर बढ्दो प्रशासनिक खर्च, राजनीतिक पद व्यवस्थापन र तह–तहको संरचनाले निर्णय प्रक्रियालाई जटिल बनाइरहेको पक्ष पनि विचारणीय छ। सूचना प्रविधि, ई–गभर्नेन्स र डिजिटल रूपान्तरणमार्फत धेरै सेवाहरू केन्द्रबाटै वा वडा कार्यालय तहबाट नागरिकको घरमै उपलब्ध गराउन सकिने अवस्थामा अतिरिक्त तहको संरचना राख्नु आवश्यक छ कि छैन भन्ने प्रश्न उठ्छ। यदि संरचना केवल राजनीतिक व्यवस्थापनको माध्यम बन्छ र प्रशासनिक लागत मात्र बढाउँछ भने त्यसको पुनर्विचार अपरिहार्य हुन्छ। त्यसैले दीर्घकालीन स्थायित्वका लागि या त संघीय संरचनालाई गहिरो डिजिटल सुधारमार्फत अत्यन्त सघन, परिणाममुखी र खर्च–प्रभावी बनाइनुपर्छ, अन्यथा प्रशासनिक तह घटाई प्रविधि–आधारित सेवा प्रवाह प्रणाली विकास गर्ने विकल्पमाथि राष्ट्रिय सहमतिसहित गम्भीर अध्ययन आवश्यक देखिन्छ।

प्रदेश संरचना खारेज गरी दुई तहको शासन लागू गर्ने प्रस्ताव व्यवहारिक रूपमा जटिल अवश्य छ, तर साझा एकता दलको दृष्टिकोणमा आजको डिजिटल युगमा संघीय संरचना अनिवार्य छ भन्ने धारणा स्वतः स्थापित हुँदैन। संघीय संरचनामा ठुलो वित्तीय र प्रशासनिक लगानी भइसकेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन, तर निरन्तर बढ्दो प्रशासनिक खर्च, राजनीतिक पद व्यवस्थापन र तह–तहको संरचनाले निर्णय प्रक्रियालाई जटिल बनाइरहेको पक्ष पनि विचारणीय छ। सूचना प्रविधि, ई–गभर्नेन्स र डिजिटल रूपान्तरणमार्फत धेरै सेवाहरू केन्द्रबाटै वा वडा कार्यालय तहबाट नागरिकको घरमै उपलब्ध गराउन सकिने अवस्थामा अतिरिक्त तहको संरचना राख्नु आवश्यक छ कि छैन भन्ने प्रश्न उठ्छ। यदि संरचना केवल राजनीतिक व्यवस्थापनको माध्यम बन्छ र प्रशासनिक लागत मात्र बढाउँछ भने त्यसको पुनर्विचार अपरिहार्य हुन्छ। त्यसैले दीर्घकालीन स्थायित्वका लागि या त संघीय संरचनालाई गहिरो डिजिटल सुधारमार्फत अत्यन्त सघन, परिणाममुखी र खर्च–प्रभावी बनाइनुपर्छ, अन्यथा प्रशासनिक तह घटाई प्रविधि–आधारित सेवा प्रवाह प्रणाली विकास गर्ने विकल्पमाथि राष्ट्रिय सहमतिसहित गम्भीर अध्ययन आवश्यक देखिन्छ।

एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था लोकतान्त्रिक सिद्धान्तसँग मेल खाने देखिन्छ। यसले नेतृत्वको पुनरुत्थान र संस्थागत सुदृढीकरणमा सहयोग गर्न सक्छ। यद्यपि अनुभव र निरन्तरताको अभाव नहोस् भन्नका लागि स्पष्ट सङ्क्रमण नीति र संस्थागत क्षमता विकासमा जोड दिनुपर्छ। यो प्रस्ताव तुलनात्मक रूपमा व्यवहारिक र कम विवादास्पद मान्न सकिन्छ।

गैह्र दलीय स्थानीय तहको अवधारणा कार्यान्वयनका दृष्टिले चुनौतीपूर्ण छ। व्यवहारमा दलीय प्रभाव पूर्ण रूपमा हटाउन कठिन हुन सक्छ। संविधान संशोधन र राजनीतिक सहमति आवश्यक हुन्छ। यसको स्थायी विकल्पका रूपमा स्थानीय तहमा पारदर्शी कार्यसम्पादन मूल्याङ्कन, जनउत्तरदायित्व र वित्तीय पारदर्शिता प्रणाली सुदृढ गर्नु अधिक प्रभावकारी हुन सक्छ।

कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रस्ताव सामाजिक दृष्टिले सकारात्मक भए पनि यसको लागि दीर्घकालीन बजेट प्रतिबद्धता आवश्यक हुन्छ। शिक्षामा कुल गार्हस्थ्य उत्पादनको पर्याप्त प्रतिशत लगानी गर्नुपर्ने हुन्छ। चरणबद्ध रूपमा सार्वजनिक विद्यालय सुदृढीकरण, शिक्षक प्रशिक्षण र डिजिटल पूर्वाधार विकासमार्फत यो लक्ष्य व्यवहारिक बनाउन सकिन्छ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रस्ताव पनि सामाजिक सुरक्षाको दृष्टिले महत्त्वपूर्ण छ। तर यसको लागि राष्ट्रिय स्वास्थ्य बिमा प्रणाली सुदृढीकरण, कर सुधार र प्राथमिक स्वास्थ्य पूर्वाधार विस्तार अनिवार्य हुन्छ। वित्तीय योजना स्पष्ट नभए सेवा गुणस्तरमा गिरावट आउन सक्छ। चरणबद्ध सार्वभौमिक स्वास्थ्य बिमा मोडेल बढी दिगो हुन सक्छ।

नेपाल बन्दको संस्कृतिलाई अन्त्य गर्ने प्रस्ताव आर्थिक स्थायित्व र लगानीमैत्री वातावरणका लागि आवश्यक मान्न सकिन्छ। तर यसको कार्यान्वयनका लागि कानुनी संरचना कडा बनाउनुका साथै वैकल्पिक विरोध प्रणालीलाई संस्थागत गर्नुपर्छ। संवाद संस्कृति सुदृढ नगरी प्रतिबन्ध मात्र लगाउँदा असन्तोष बढ्न सक्छ।

जलस्रोत, पर्यटन र कृषिलाई आर्थिक विकासको आधार बनाउने प्रस्ताव उच्च सम्भावनायुक्त छ। नेपालसँग प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदा प्रशस्त छ। तर यसको लागि दीर्घकालीन योजना, विदेशी लगानी, प्राविधिक क्षमता र मूल्य शृङ्खला विकास आवश्यक हुन्छ। नीति निरन्तरता र पारदर्शिता कायम रहेमा यो प्रस्ताव दिगो आर्थिक आधार बन्न सक्छ।

सूचना प्रविधिमा आधारित आधुनिक शासन प्रणाली विकास गर्ने र सुशासन तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने प्रस्ताव समसामयिक र व्यवहारिक छन्। डिजिटल शासन, सार्वजनिक खरिद प्रणालीको पारदर्शिता र स्वतन्त्र निगरानी निकायको सुदृढीकरणमार्फत कार्यान्वयन सम्भव छ। यस्ता सुधारहरू राजनीतिक इच्छाशक्ति र संस्थागत प्रतिबद्धतामा निर्भर हुन्छन्, तर दीर्घकालीन रूपमा सबै पक्षलाई स्वीकार्य हुने स्थायी समाधान बन्न सक्छन्।

14/02/2026

देश र राष्ट्रिय सरोकारका विषयहरूमा उठ्ने हरेक प्रश्न, अनुसन्धान, नागरिक सक्रियता तथा जनसहभागिता लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो। सार्वजनिक चासोका विषयहरू तथ्य, प्रमाण र विधिसम्मत प्रक्रियाबाट स्पष्ट हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।

साझा एकता दल शान्तिपूर्ण अभिव्यक्ति, जिम्मेवार नागरिक सहभागिता र संवादमार्फत राष्ट्रिय मुद्दाहरू समाधान हुनुपर्छ भन्ने विश्वास राख्दछ। मतभेद स्वाभाविक हुन्, तर राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र संस्थागत स्थायित्व सधैँ सर्वोपरि रहनुपर्छ।

हामी सबै पक्षलाई संयम, जिम्मेवारी र राष्ट्ररहितलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्दछौँ। देशको भविष्य भावनात्मक उत्तेजनाबाट होइन, विवेक, संवाद र संस्थागत सुदृढीकरणबाट सुनिश्चित हुन्छ।

— साझा एकता दल

14/02/2026

राष्ट्र निर्माण नाराले होइन, नीतिले हुन्छ।

आजको नेपालको राजनीति गम्भीर आत्म मन्थनको चरणमा छ। राष्ट्रिय चिन्तन, समस्याको यथार्थ पहिचान र दीर्घकालीन समाधानको खोजीभन्दा पनि बहस व्यक्ति पूजा, सेलिब्रिटी–केन्द्रित छवि, व्यक्तिगत आक्रमण र सामाजिक सञ्जालको उत्तेजनामा सीमित हुँदै गएको देखिन्छ।

राजनीति विचारको प्रतिस्पर्धा हुनुपर्नेमा अनुहारको प्रतिस्पर्धामा सीमित भएको छ।

पुराना दलहरूले दशकौँ अघि तय गरेका विचारधारा र दृष्टिकोण समयअनुसार परिमार्जन गर्न सकेका छैनन्। बदलिँदो विश्व व्यवस्था, प्रविधि, युवा मनोविज्ञान र आर्थिक यथार्थलाई समेट्ने बौद्धिक साहस आवश्यक थियो—तर त्यसमा निरन्तरता देखिएन।

अर्कोतर्फ, नयाँ शक्तिहरूले ऊर्जा र असन्तोष त बोके, तर स्पष्ट विचारधारा, ठोस नीति–दिशा, संस्थागत संरचना र शासन क्षमताको गहिराइ बिना नै लहर र हलचलमा अघि बढिरहेको देखिन्छ।

फलस्वरूप—
राज्यको संरचना छ, तर प्रभावकारी कार्यान्वयन कमजोर छ।
कानुन कागजमा छ, तर न्यायको अनुभूति नागरिकले पाउँदैनन्।
संविधान छ, तर सुशासनको परिणाम सीमित छ।
लोकतन्त्र छ, तर विश्वासको सङ्कट गहिरिँदै छ।

नेपालको मूल प्रश्न व्यक्तिको आगमन वा बहिर्गमन होइन।
मूल प्रश्न हो—
🔹 उत्पादनमुखी अर्थतन्त्र कसरी निर्माण गर्ने?
🔹 युवालाई देशभित्रै सम्मानजनक रोजगारी कसरी दिने?
🔹 शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय र समान पहुँचयुक्त कसरी बनाउने?
🔹 भ्रष्टाचार र दण्डहीनताको चक्र कसरी तोड्ने?
🔹 राज्यलाई सेवा–मुखी र उत्तरदायी कसरी बनाउने?

आज आवश्यकता छ—
भावनात्मक ध्रुवीकरण होइन, नीतिगत बहस।
नारा होइन, कार्य योजना।
व्यक्ति पूजा होइन, संस्थागत सुदृढीकरण।

हामी सबै राजनीतिक शक्तिहरू, बुद्धिजीवी वर्ग, युवा पुस्ता र नागरिक समाजलाई आग्रह गर्दछौँ—
राष्ट्रलाई सही दिशातर्फ लैजान गम्भीर विचार मन्थन गरौँ। विचारधारालाई समयसापेक्ष परिमार्जन गरौँ। नीति र कार्यक्रमलाई स्पष्ट बनाऔँ।

नेपाल ३ करोड नागरिकको साझा घर हो। यसको भविष्य कुनै एक व्यक्तिको करिश्मा वा असन्तोषको लहरले होइन, सामूहिक विवेक, स्पष्ट दृष्टिकोण र कठोर संस्थागत सुधारले तय हुन्छ।

अब बहस व्यक्तिको होइन, राष्ट्रको हुनुपर्छ।
अब प्रतिस्पर्धा आरोपको होइन, परिणामको हुनुपर्छ।
अब राजनीति हलचलको होइन, समाधानको हुनुपर्छ।

विविधतामा एकता हाम्रो विशेषता हो, तर त्यो एकता विचार, नीति र राष्ट्र हितमा केन्द्रित हुनुपर्छ।

14/02/2026

देश व्यक्तिको नारा वा क्षणिक लहरले होइन, दीर्घकालीन नीति र संस्थागत सुधारले बदलिन्छ।

आज विभिन्न कोणबाट बहस र प्रतिस्पर्धा भइरहेका छन्। हामी व्यक्तिको पक्ष–विपक्षमा होइन, राष्ट्रको दीर्घकालीन दिशा के हुनुपर्छ भन्ने प्रश्नमा केन्द्रित छौँ।

हाम्रो दृष्टिकोण स्पष्ट छ —
राष्ट्रिय एकता, स्वच्छ र उत्तरदायी शासन, शून्य भ्रष्टाचार, आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध।

हामी भावनात्मक उत्तेजना होइन, ठोस कार्य योजना चाहन्छौँ।
हामी व्यक्ति पूजा होइन, संस्थागत सुशासन चाहन्छौँ।
हामी नाराभन्दा परिणाममा विश्वास गर्छौँ।

३ करोड नेपालीले देशभित्रै सम्मानजनक रोजगारी, गुणस्तरीय शिक्षा–स्वास्थ्य र समान अवसर पाउने व्यवस्था नै वास्तविक परिवर्तन हो।

परिवर्तन कुनै एक अनुहारबाट होइन, स्पष्ट नीति, सक्षम नेतृत्व र नागरिकको विवेकपूर्ण सहभागिताबाट आउँछ।

विविधतामा एकता, हाम्रो विशेषता।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when साझा एकता दल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share