10/06/2026
रोजगारीको लागि युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा आउन लाग्नुभएका र यहाँ रहनु भएका नेपाली नागरिकहरुका लागि दुई महत्वपूर्ण बिषयमा जरूरी सुचना:-
१. युएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन भएको वा थुनामा परेकोले खोजी गरिदिन भनी नेपालमा रहनुभएका सम्बन्धित परिवारबाट दैनिक रुपमा यस महावाणिज्यदुतावासमा अनुरोध आउने गरेको छ। सम्पर्कविहिन व्यक्तिको खोजीका लागि आवश्यक कागजात उपलब्ध गराइदिन सम्बन्धित परिवारलाई अनुरोध गर्दा अधिकांश अवस्थामा कागजात उपलब्ध नहुने गरेको पाइएकोले कुनैपनि नेपाली नागरिकले रोजगारीका लागि युएई प्रस्थान गर्नुअघि आफ्नो राहदानी, भिसा, श्रम अनुमतिको सफा प्रतिलिपि आफ्नो परिवारलाई सुरक्षित साथ राख्न लगाउनु हुन पुन: सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै, युएई आइसकेपछि काम गर्ने कम्पनीको नाम, पूरा ठेगाना, कम्पनीको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर, बस्ने ठाउँ (क्याम्प)को पुरा ठेगाना, क्याम्प प्रमुख (क्याम्पबोस)को नाम र सम्पर्क नम्बर साथै इमिरेट्स आइडी बनिसकेपछि सोको सफा प्रतिलिपि समेत परिवारलाई पठाई सुरक्षित साथ राख्न लगाउनु पर्दछ।
माथि उल्लेख गरिएका आधारभूत कागजात र विवरण बिना सम्पर्कविहिन व्यक्तिको खोजी कार्य कठीन हुने व्यहोरा समेत जानकारी गराइन्छ।
२. नेपाली नागरिको नामको युएई मोबाइल सीम/इमिरेट्स आइडी अरुले प्रयोग गरी फसाएको र यसरी फसेका/मुद्दा खेपिरहेका/जेल/जरिवाना सजाय भएका व्यक्तीलाई सहयोग गरिदिन भनी सम्बन्धित व्यक्ति/परिवारबाट निरन्तर अनुरोध आउने गरेको छ। कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडी जो कोही व्यक्तिलाई नदिनुहोला। बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाईदिन्छु भनी नेपाली नागरिकको इमिरेट्स आइडी अनधिकृत व्यक्तिले प्रयोग गरी बैंकबाट ऋण लिएर फसाईदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा फसेका व्यक्तिका मुद्धाहरु अहिलेपनि उल्लेख्य संख्यामा छन्। युएईको फोन सीम कार्ड इमिरेट्स आइडीमा जोडिने भएकोले आफ्नो सीम कार्ड अरुलाई दिंदा अरुले सो सीम प्रयोग गरी भएको आर्थिक हिनामिना (scam/fraud case) हरुमा आफू परिने हुन्छ। तसर्थ, आफ्नो नामको मोवाइल सीम अरुलाई दिनु वा अरुको सीम कदापि प्रयोग गर्नु हुदैन। कसैले बैंकबाट कल गरेको भनी फोन मार्फत बैंक कार्ड नम्बर, OTP नम्बर वा इमिरेट्स आइडी नम्बर मागेमा ठगीको फन्दामा परिने हुँदा फोन मार्फत कसैलाई पनि आफ्ना व्यक्तिगत विवरण तथा कार्ड नम्बरहरु नदिनु होला। आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको जानकारी हुँदासाथ सम्बन्धित बैंकमा आफै उपस्थित भएर सूचना दिनुपर्दछ।बैंकलाई समयमा जानकारी नगराउँदा कानूनी कारवाहीमा पर्न सक्नुहुनेछ।
जनहितका लागि यस सूचनालाई बढी भन्दा बढी प्रसार गरिदिनुहुन युएई स्थित नेपाली समुदायका अग्रज, संचारकर्मी र अन्य सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।
नेपाली महावाणिज्यदूतावास दुबई,
जुन ०९, २०२६