27/04/2025
आदरणीय गुरूहरू,
तपाईंहरू जसले विभिन्न कालखण्डमा मुलुकको व्यवस्था परिवर्तनमा निर्णायक भूमिका निभाउनुभयो, आज आफ्नै योगदानको अपमान देखेर पनि अझै मौन बस्न कसरी सक्नुहुन्छ र?
हिजो तपाईंहरूले शिक्षित, सभ्य र न्यायपूर्ण समाजको परिवर्तनको सपना देख्नुभएको थियो तर आज त्यही परिवर्तनको लाभ उठाउनेहरूले तपाईंहरूको शिरमाथि दमनको चप्पल टेकिरहेका छन्। आजको यथार्थले के तपाईंहरूको आँखामा पानी झरेन?
आज तपाईंहरूको आत्मा अझै चिच्याएर बोलिरहेको छैन?
संसदमा मिठा भाषण गर्नेहरूले सडकमा तपाईंहरूको संघर्षलाई कति घृणासाथ हेरे भन्ने ताजै अनुभूति तपाईंहरूले विगत देखि आजको दिन सम्म गरिरहनु भएको छ।
वार्ताका नाममा अपमान, संवादका नाममा तिरस्कार, र न्यायका नाममा आश्वासन मात्रै त हो नी, होईन र? यही त हो तपाईंहरूले पाएका सम्मान!
हिजो तपाईंहरूले व्यवस्था बदल्नुभयो, तर सत्ता सम्हाल्नेहरूको संस्कार बदल्न सक्नुभएन।
अब के तपाईंहरू फेरि मौन बस्न तयार हुनुहुन्छ?
कि यो सडेको संस्कारलाई पनि बदल्ने अर्को क्रान्ति सुरु गर्नुहुन्छ?
आज तपाईंहरूका सामु तीनवटा प्रश्न छन्:
⛔के अझै पनि आफूलाई कुनै नेताको सिफारिसमा टिकाउन चाहनुहुन्छ?
⛔के अझै पनि भेटी, चाकडी र कृपाप्रणालीलाई निरन्तरता दिन चाहनुहुन्छ?
⛔कि अब निष्पक्ष, पारदर्शी, कार्यसम्पादनमा आधारित प्रणालीको स्थापना गर्न अगाडि बढ्न तयार हुनुहुन्छ?
अब निर्णय तपाईंहरूको हातमा छ।
यो केवल तपाईंहरूको पारिश्रमिकको कुरा होइन,
यो तपाईंहरूको स्वाभिमानको रक्षाको युद्ध हो।
यो तपाईंहरूको आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने निर्णायक घडी हो।
त्यसैले आदरणीय गुरुहरू,
✅पुराना दलहरूप्रति बाँधिएको मोह त्याग्नुस्।
✅पार्टीगत गोटी बन्न अस्वीकार गर्नुस्।
✅स्वतन्त्र शिक्षण समुदायको निर्माणका लागि अग्रसर हुनुस्।
✅संस्कारिक क्रान्तिको अग्रसरता लिनुस्।
नत्र फेरि पनि इतिहास दोहोरिन्छ, फेरि पनि तपाईंहरूलाई प्रयोग गरिन्छ, अनि तपाईंहरू फेरि पनि भुलिरहनु हुनेछ।
अब उठ्नुहोस् आत्मसम्मानका लागि, भविष्यका लागि, सत्यका लागि✊✊
शिक्षक मात्र नभइ संस्कार परिवर्तनका सच्चा अभियन्ता बन्नुहोस्🙏🙏