23/05/2026
आफ्नो २७ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले प्रत्येक बर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
बिहीबार काठमाडौंस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा 'राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३' अन्तर्गत ५५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरियो । त्यस्तै, 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३' जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो ।
यस्तै 'राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने 'स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन् ।
राष्ट्रिय 'चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३' अन्तर्गत २५ हजार रूपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो।