12/11/2025
बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणको महत्वका बारेमा हाम्रो यस क्लबका अध्यक्ष श्री बिमल सुबेदी ज्यूको लेखः "बन्यजन्तु संरक्षणका लागि बृक्षारोपण"
बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणको महत्वका बारेमा हाम्रो यस क्लबका अध्यक्ष श्री बिमल सुबेदी ज्यूको लेखः
बन्यजन्तु संरक्षणका लागि बृक्षारोपणः
प्राकृतिक श्रोतको धनि हाम्रो देश नेपालमा 'बन्यजन्तु संरक्षण' बिषयमा बेला-बखतमा चर्चा र छलफल भैरहन्छ । बन्यजन्तु त्यस्ता जिबजन्तुहरु हुन् जो आफ्नो खाना, बासस्थान र सुरक्षाका लागि बन-जंगलमा आश्रित हुन्छन् । मानव जनसंख्या बृद्धिसंगै हाल आएर बन्यजन्तुहरु राष्ट्रिय निकुन्ज र आरक्षण क्षेत्रहरुमा सिमित छन् । यस्ता संरक्षित क्षेत्रहरु छुट्टाएर बन्यजन्तु संरक्षणको पहलका लागि सरकार र संरक्षण निकायहरुको ठूलो भूमिका छ ।
हामिलाई थाहै भएको कुरा हो, बन-जंगलमा घास्य-मैदान, सिमसार, घना-झाडि जस्ता बिभिन्न प्रकारका क्षेत्रहरु हुन्छन र त्यस्ता क्षेत्रहरुले बिभिन्न थरिका प्रजातिहरुलाई बासस्थान प्रदान गरेको हुन्छ । यस्ता कुनैपनि क्षेत्रहरुमा केहि मात्रामा या लाखौको संख्यामा रुखहरु हुन्छन् जसले किरा-फट्यान्ग्रा, सरिसृप देखि लिएर चराचुरुंगि र स्तनधारिहरुलाई साहारा दिएको हुन्छ । चराचुरुंगिले रुखमा नै गुड लगाउछन् र रुखमा बस्ने स्तनधारीहरुको लागि रुखनै उनिहरुको घर हो । किरा-फट्यान्ग्रा, पुतलीहरु बिभिन्न रुख-बिरुवाका फुलको रस पिउछन्, जमिनमा हिड्ने स्तनधारीहरुले रुख-बिरुवाका पात र फल खान्छन् साथै रुख-बिरुवाकै आडमा घाम-पानिबाट सुरक्षित रहन्छन् । जहा रुख हुन्छ, त्यहा जिबजन्तुका लागि खाना र पानिको श्रोत पनि हुन्छ, जस हिसाबले रुख-बिरुवाहरुले एक किसिमको पारिस्थितिकि प्रणाली (ईको सिस्टम) कायम राख्न मद्दत पुर्याएका हुन्छन् । त्यसैले, रुख-बिरुवा बिनाको बासस्थान र त्यस्ता बासस्थान बिनाको बन्यजन्तुका बारेमा कल्पना गर्न पनि गार्हो हुन्छ ।
तर, मानव बस्तिको बढ्दो शहरीकरण र बिकास निर्माण परियोजनाका कारणले बन्यजन्तुहरुको बासस्थान प्रभाबित भएको छ । राजमार्ग, रेलमार्ग, केवलकार, बिमानस्थल, जस्ता भौतिक निर्माण कार्यका लागि सयौको संख्यामा रुखहरु काटिएका हुन्छन् । यस्ता निर्माण परियोजनाहरुले उक्त क्षेत्रमा भएको बन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट गर्दछन् । साथै, मानव जनसंख्या बृद्धिसंगै बढेको फोहोरका कारणले बन्यजन्तुको बासस्थान र पानिको श्रोतहरु प्रदुषित भएको छ । प्राणी जगतमा बुद्धिमान हामी मानव प्रजातिले आफ्नो खाना जुटाउनका लागि खेतिपाति गर्न सक्छौ र प्रदुषित पानिलाई प्रशोधन गरेर पिउन सक्छौ, तर ति अबोध बन्यजन्तुहरु प्राकृतिक रुपमा उपलब्ध खाना र पानिको श्रोतमै निर्भर हुन्छन् । प्रकृतिमै उपलब्ध यस्ता खाना र पानिका प्राकृतिक श्रोतहरुमाथि पनि मानव प्रजातिले आफ्नो कब्जा जमाईसकेको छ ।
त्यसैले, बन्यजन्तु संरक्षणका लागि पहिला रुख-बिरुवा र बन-जंगलको संरक्षण गर्नु अति आवश्यक छ । हामिले बिकास निर्माणका कार्यहरु पूर्ण रुपमा रोक्न नसकौला तर प्रकृतीमाथिको अनावश्यक अतिक्रमण रोक्नुपर्दछ । खाली रहेका स्थानहरुमा रुख-बिरुवाहरु रोप्न सक्दछौ, जसले त्यस स्थानमा बन्यजन्तुलाई थोरै भएपनि बासस्थान प्रदान गर्नसकोस । उदाहरणको लागिः यदि हामिले कुनै एउटा फलको बिरुवा रोप्यौ भने, त्यो बिरुवा रुख भएपछि त्यसको फुलमा किरा-फट्यान्ग्रा र पुतलीहरु आउछन्, त्यो रुखमा चराचुरुंगीले गुड लगाउन सक्दछन् र त्यसको फल र पातहरु जनावरहरुले खानेछन् । यसरी, एउटा रुखले नै सिंगो पारिस्थितिकि प्रणाली (ईको सिस्टम) सृजना गर्न मद्दत गर्दछ जसले बिभिन्न बन्यजन्तुलाई खाना र बासस्थान प्रदान गरेको हुन्छ ।
तसर्थ, हामि हृदयदेखि नै यो मनन् गर्ने कोशिस गरौ कि बन्यजन्तुहरुको भबिष्य हामि मानव प्रजाति कै सहयोग र संरक्षणको भरमा छ र हामिले उनिहरुका लागि आजदेखिनै केही गर्न कोशिस गरेनौ भने भोलिका दिनमा उनिहरुको अस्तित्व खतरामा परेर लोप नै हुने सम्भावना रहेको छ र त्यसका लागि हामि मानवनै जिम्मेवार रहनेछौ । हामि मानवहरु एक बिवेकशिल र जिम्मेवार प्रजाति भएकाले, आऔ हामि सबै मिलेर बृक्षारोपणका कार्यक्रमहरुलाई प्रोत्साहन गरौ, प्रदुषण कम गरौ र बन्यजन्तुको संरक्षणमा सहयोग गरौ जसले गर्दा हाम्रा भाबि पिढिले पनि बन्यजन्तुहरु अवलोकन गर्न पाउन र संरक्षणको अभियानलाई निरन्तरता दिन सकुन । धन्यबाद !
जय प्रकृती ! जय ईको क्लब 🙏