14/07/2026
भक्तपुर जिल्ला अदालतबाट सूर्यविनायक नगरपालिकाको न्यायिक समितिको अनुगमन सम्पन्न ।
भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधीश श्रीप्रसाद सन्जेलज्यू सहितको टोलीले आज सूर्यविनायक नगरपालिकाको न्यायिक समितिको कामकारबाही, अभिलेख व्यवस्थापन, आदेश तथा निर्णय प्रक्रिया, मेलमिलाप प्रणाली एवं विवाद निरूपणसम्बन्धी कार्यहरूको अनुगमन तथा निरीक्षण गर्नुभयो।
अनुगमनका क्रममा न्यायिक समितिले सम्पादन गर्दै आएका कार्यहरूको समीक्षा गर्नुका साथै अभिलेख व्यवस्थापन, न्याय सम्पादनको प्रक्रिया, मेलमिलापको प्रभावकारी कार्यान्वयन तथा सेवा प्रवाहलाई अझ व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउने विषयमा महत्वपूर्ण सुझाव तथा मार्गदर्शन प्रदान गरिएको थियो। प्राप्त सुझावहरूले न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गर्दै नागरिकलाई छिटो, सहज, सुलभ र प्रभावकारी न्यायिक सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।
यस अवसरमा न्यायिक समितिका संयोजक सरिता तिम्सिना भट्टराईले स्थानीय तहको न्यायिक समितिको मूल उद्देश्य नागरिकलाई घरदैलोमै सहज, सुलभ र न्यायपूर्ण सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै प्राप्त सुझावहरूलाई आत्मसात् गरी न्यायिक समितिको कार्यसम्पादनलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, न्यायिक समितिका सदस्यहरू, नगरपालिकाका कानुनी सल्लाहकार, कानुनी अधिकृत तथा सम्बन्धित कर्मचारीहरूको उपस्थितिमा सम्पन्न उक्त अनुगमन कार्यक्रम न्यायिक समितिको कार्यसम्पादनलाई थप सुदृढ बनाउन फलदायी रहने विश्वास व्यक्त गरिएको छ।
भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधीश श्रीप्रसाद सन्जेलज्यू तथा उहाँसहितको सम्पूर्ण टोलीप्रति मूल्यवान् सुझाव, मार्गदर्शन र निरन्तर सहकार्यका लागि सूर्यविनायक नगरपालिका न्यायिक समिति हार्दिक आभार व्यक्त गर्दछ।।
#सुर्यविनायक_नगरपालिका
#न्यायिकसमिती
#भक्तपुरजिल्ला_अदालत
#अनुगमननिरिक्षण