07/04/2026
जनता सधैं सजिलो भाष्य (‘easy narrative’) को खोजीमा हुन्छन्। जस्तै, आर्थिक विकास कसरी गर्ने भन्दा सरकारले उद्योग खोलेर सबैलाई रोजगारी दिने भन्ने कुरा। सुन्दा यो कुरा सहज र सरल लाग्छ। तर संसारमा सरकारले उद्योग चलाएर सबैलाई रोजगारी दिएर बनेको देश एउटै छैन। सन् १९९० को दशकसम्म आइपुग्दा लगभग सबै देशहरू (समाजवादी भारत र साम्यवादी चीन समेत) आर्थिक उदारीकरणतर्फ गए। कारण, निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिँदा निजी क्षेत्रले मुनाफा कमाउने, जनताले रोजगारी पाउने, राज्यले नियमन गरे पुग्ने र सरकारले कर पनि उठाउन पाउने। तर जनतालाई यो कुरा बुझाउन मेहनत चाहिन्छ। यो सजिलै बिक्ने सहज भाष्य होइन।
नीतिनिर्माण सजिलो विषय होइन। पत्रपत्र केलाएर, बुझेर, दीर्घकालीन प्रभाव हेरेर निर्णय गर्नुपर्छ। जिम्मेवार नेताको काम जनतालाई बुझाउनु हो। सजिलो भाष्यमा सधैं तथ्य हुँदैन भन्ने कुरा जनतामाझ पुर्याउनु हो।
राजनीतिज्ञहरू आफूप्रति आकर्षण तान्न र सजिलो भाष्य बेचेर चुनाव जित्न त्यस्तै भाष्य बेच्छन्। जस्तो कि देशलाई यति ऋण लाग्यो, उति ऋण लाग्यो भन्ने भाष्य नेपालमा कम्युनिस्टदेखि पपुलिस्टसम्मले चुनाव जित्नकै लागि बेचे।
तर के देशहरूले ऋण लिने कुरा नौलो हो? के विकसित देशहरूको ऋण छैन? ऋण लिनु ठूलो कुरा होइन, ऋणको सदुपयोग भयो कि भएन भन्ने प्रश्न हो। आज रास्वपा सरकारले ऋण लिँदा, जनता भड्काउन हामी पनि त्यही भाष्य बेच्न सक्थ्यौँ। क्षणिक राजनीतिक फाइदा पनि हुन्थ्यो होला, तर हामी त्यस्तो गर्दैनौँ।
हामी जिम्मेवार राजनीति गर्छौँ।