07/08/2026
चेम्जोङ कुलबाट शाह वंशलाई सचेत गरेको अनौठो कथा - पढनुहोस् !
Dakendra Singh Limbu ज्युको फेसबुक वालबाट साभार -
आखिर पृथ्वीनारायण शाह किन दलहाङमासामु रोए?
यो प्रसंग धेरैलाई अपत्यारिलो लाग्न सक्छ। कसैले यसलाई अन्धविश्वास भन्नुहोला, कसैले मौखिक इतिहास वा आध्यात्मिक अनुभूति। तर लिम्बुवानमा लामो समयदेखि सुनिँदै आएको १८३१ सालको तसली–मुलुकी लालमोहर (नून–पानी) सन्धिको स्मरणसँग जोडिएकाले आजको दिन यहाँ साझा गर्न सान्दर्भिक ठान्दछु।
वि.सं. २०३६ सालतिर दलहाङमा सङ्बाङ्फेले एक दिन एउटा अनौठो अनुभव गरिन्। उनका अनुसार, राजा पृथ्वीनारायण शाह स्थूल शरीरमा प्रकट भएर रुँदै थिए। अचम्म मान्दै दलहाङमाले सोधिन्, "तपाईं को हुनुहुन्छ? किन रुनुभएको?"
जवाफ आयो—"म अहिलेका राजाका जिजु–बराजु, हजुरबुबा पृथ्वीनारायण शाह हुँ।"
दलहाङमाले फेरि सोधिन्, "किन रुनुभएको?"
उनको भनाइ अनुसार पृथ्वीनारायण शाहले भनेका थिए—
"मैले तिमीहरूका पुर्खा लिम्बुवानीहरूसँग धर्म–कसम खाई लालमोहर गरेको थिएँ। त्यो वाचा उल्लङ्घन गरी अधिकार खोसिएकाले मेरा सन्तानको सर्वनाश हुँदै गएको देखेर म रोइरहेको छु।"
दलहाङमाले भनिन्, "म जस्ती सामान्य महिलाले यस्तो कुरा गर्दा कसले पत्याउँछ? मन्त्रीहरूलाई भन्नु नि ।"
त्यसमा उनले भनेको बताइन्छ-
"जहाँसुकै भन्न मिल्दैन। शुद्ध आत्मा चाहिन्छ। याशोकको माथिल्लो सिद्धथान (कुम्मायक) मा केही चढाइदिए मेरो परिवारमा केही शान्ति हुनेछ।"
दलहाङमाले यो कुरा आफ्ना श्रीमान् तथा तत्कालीन स्याब्रुम्बा गाउँ पञ्चायतका प्रधानपञ्च दलबहादुर चेम्जोङलाई सुनाइन्। त्यसपछि यो विषय स्थानीय नेतृत्व ,जिल्ला सभामा बृहत् छलफल हुँदै तत्कालीन राजसभा स्थायी समिति सदस्य बमबहादुर सङबाङ्फे र तत्कालीन लिम्बुवानका प्रभावशाली नेता पद्मसुन्दर लावतीमार्फत राजदरबारसम्म पुगेको बताइन्छ। त्यसको परिणामस्वरूप राजदरबारबाट कुम्मायक देवस्थलमा पूजा–अर्चना तथा शान्ति अनुष्ठानका लागि रु. ३,१०० तत्कालीन सिडिओ बालेश्वरप्रसाद सिंहको नाममा पठाइएको थियो। पृथ्वीनारायण शाहदेखि राजा बीरेन्द्रसम्मको नामांकित भएको ५/५ किलोको दुइटा घण्टी, ९ फुटे त्रिशूल, तामाको छाता, कोरली बाच्छी लगायतका सामग्री चढाई अष्टम यज्ञ सम्पन्न गरिएको थियो। राजदरबारको नामबाट सेवा लगाइदिने सेवासाबा पुजारीहरु केही जना अझै जीवित हुनुहुन्छ । शायद त्यो सेवाले २०५८ जेठ अर्थात् २२ बर्षसम्म थामियो र अन्त्यमा बिश्व इतिहासमै दु:खद दरबार हत्याकाण्ड भयो।
लिम्बुवानमा आज पनि एउटा विश्वास सुनिन्छ—याक्थुङ लिम्बु पुर्खाहरूसँग गरिएको धर्म–कसम र लालमोहरको वाचा उल्लङ्घन नगरेको भए शाही राजवंशले यस्तो दुर्भाग्य भोग्नुपर्ने थिएन। यो विश्वाससँग सबै सहमत हुनैपर्छ भन्ने होइन, तर यो लिम्बुवानको मौखिक इतिहास र जनविश्वासको एउटा महत्त्वपूर्ण अंश अवश्य हो।
नोट: यो विवरण २०८० असोज २३ गते भक्तपुर, गठ्ठाघरस्थित निवासमा १०० वर्षीय दलबहादुर चेम्जोङसँग लिइएको मौखिक टिपोटमा आधारित हो। हाल दुबै जीउँदो इतिहास दलबहादुर चेम्जोङ र उहाँको धर्मपत्नी दलहाङमा सङ्बाङ्फे (क्रमशः १०२ र ९४ बर्षको उमेरमा ) स्वर्गीय हुनुहुन्छ।
सेवारो ।